एमालेको लोकप्रियता देखेर कांग्रेस माओवादी आत्तिए, सच्चिएनन् भने उनीहरुको भविष्य छैनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको बिरोध गरेको बताएका छन् ।
नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उदघाटन गर्दै बुधवार उनले यस्तो बताएका हुन् । उनले एमालेको बिरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले बिरोध गरिएको बताए ।
उनले एमालेको लोकप्रियताले माओवादी र काँग्रेस आत्तिएको बताए । उनले माओवादी र काँग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको बताए ।
उनले भने ‘एमालेको बिरोध किन ? गरेका छन् भन्दा एमाले अयोग्य, असक्षम भएर होइन, काम गर्न नसकेर होइन । एमाले सशक्त छ, योग्य छ, काम गर्नसक्छ । मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ । देशमा सुशासन ल्याउनसक्छ। शान्ति सुव्यवस्था कायम गर्नसक्छ, त्यसो भएपछि बिरोध भइरहेको छ । अनि आत्तिएका छन्, काँग्रेस हामीसँग आत्तिएको किन, आफ्नै भविष्य अन्धकार देख्न थालेर । माओवादी आत्तिएको किन ? आफ्नो भविष्य अन्धकार देख्न थालेर । तपाईहरु सच्चिनु हुँदैन भने एमालेको बिरोध गरेर मात्रै तपाईहरुको भविष्य छैन । नसच्चिए त तपाईहरुको भविष्य अन्धकार भएर जाने नै हो ।’
अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताए । उनले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।