मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्ने बताए ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताए ।
भ्रष्टाचार भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने उनले बताए । कुनै पनि गलत कुरालाई अख्तियारले हेर्नसक्ने उनले बताए ।
‘मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ भन्ने हाम्रो पार्टीको, मेरो लाइन हो । नीतिगत, योगत/उगत भन्ने होइन । भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ ? भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ । कुनै लेप लाग्नु हुँदैन । हेर्नु हुँदैन भन्ने होइन । गलत चिज कुनै पनि छ भने हेर्नुपर्छ । जहिलेको पनि हेर्नुपर्छ । यो हाम्रो दलको कुरा हो’ लामिछानेले भने ।
सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रष्ट, ओम्नी, यति लगायतका प्रकरणहरुको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरे ।