अडानीलाई पछि पार्दै अम्बानी बने भारतका सबैभन्दा धनी, कति कमाए ?
काठमाडौं । लामो समयदेखि भारतका सबैभन्दा धनी व्यक्ति रहेका गौतम अडानीलाई पछि पार्दै अर्का भारतीय व्यवसायी मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
अडानी समूहका अध्यक्ष गौतम अडानीलाई पछि पार्दै रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष अम्बानी सबैभन्दा धनी भारतीय बनेका हुन्। मंगलबार जारी भएको ‘३६० वान वेल्थ हुरुन इण्डिया रिच लिस्ट २०२३’मा अम्बानी शीर्ष स्थानमा देखिएका छन् । मंगलबार सार्वजनिक भएको हुरुन इण्डियाको यो सूची १२ औं पटक सार्वजनिक भएको सूची हो ।
उक्त सूचीकाअनुसार अम्बानीको कुल सम्पत्ति ८.०८ लाख करोड भारतीय रुपैयाँ रहेको छ । गौतम अडानीको कुल सम्पत्ति भने ४.७३ लाख करोड भारतीय रुपैयाँ रहेको छ । अडानी उक्त सूचीमा दोस्रो नम्बरमा छन् ।
गत वर्ष सार्वजनिक भएको हिडनबर्ग रिसर्च रिपोर्टका कारण अडानीको सम्पत्तिमा भारी गिरावट आएको छ ।
त्यस्तै, तेस्रो नम्बरमा भारतीय व्यवसायी साइरस पुनावाला रहेका छन् । सीरम इन्स्टीच्युट अफ इण्डियाका संस्थापक साइरसको कुल सम्पत्ति २.७८ लाख करोड भारतीय रुपैयाँ रहेको छ ।
हुरुन इण्डियाको रिपोर्टकाअनुसार भारतका अर्बपति व्यवसायीहरुको सम्पत्तिमा सञ्चय वृद्धि ८ .५ प्रतिशतको देखिएको छ । त्यस्तै, औसत सम्पत्तिमा भने ९.३ प्रतिशतको गिरावट आएको छ ।
उक्त सूचीकाअनुसार १ हजार ५४ जना भारतीय अर्बपतिको सम्पत्तिमा वृद्धि वा यथावत अवस्था देखिएको छ भने २६४ जनाको सम्पत्तिमा गिरावट देखिएको छ । उक्त सूचीमा २७ जना नयाँ अर्बपतिहरुको पनि प्रवेश भएको छ भने ५५ जना पुराना अर्बपतिहरु सूचीबाट बाहिरिएका छन् ।