कानुन समितिबाट पारित सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा के छ ?



काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

मंगलबार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधवार समितिले पारित गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन् ।

उनका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ । तत्कालीन प्रचलित कानुनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको जानकारी दिइन् ।

‘मनि लाउण्डरिङको विषयमा छलफल भयो र त्यसमा उपसमितिले हिजो नै प्रतिवेदन बुझाएको थियो । उपसमितिले बुझाएको प्रतिवेदनमा थप छलफल गर्नपर्ने विषयहरुमा छलफल गरेका छौँ’ उनले भनिन्, ‘अरु विषय उपसमितिले जे बुझाएको छ, त्यो नै विषय पास गर्‍यौं र सहकारीको विषयमा विधेयकको दफा १८ को उपदफा २ झिक्ने वा सहकारी ऐन, २०७४ को दफा ५२ मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने । क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटर की ३ किलोमिटर गर्ने भन्ने विषय थियो, त्यो विषयमा तत्कालीन प्रचलित कानुनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरुको सन्दर्भमा त्यो कायम राख्ने र तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुले अब तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने । अब बन्ने नयाँ क्यासिनोहरुको हकमा ५ किलोमिटरको सीमा कायम गर्ने ।’

समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताए ।


क्लिकमान्डु