भेपमा सुन तस्करी प्रकरण: पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमापूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो ।
भेपमा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन सरकरी वकिलको कार्यालयलाई बुझाएको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरको मुद्दा लगाइएको हो । उनीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
प्रतिवादीहरूलाई कसुरको प्रकृतिअनुसार बिगोको आधारमा ३ देखि ५ वर्षसम्मको सजाय मागदाबी गरिएको छ ।
दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्कारले भेपमा लुकाएर ल्याएइको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।