साल्ट ट्रेडिङले बेच्न थाल्यो सरकारले बरामद गरेको ७० हजार किलो चिनी



काठमाडौं । सरकारले कालोबजारी गरेको अभियोगमा बरामद गरेको ७० हजार चिनी साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत बिक्री गर्न सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार उक्त चिनी कर्पोरेशनलाई बिक्री गर्न दिनका लागि उपलब्ध गराइएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज ४ गते कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकको गोदामबाट १४ सय बोरा (७० हजार किलो) बरामद गरेको थियो ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालकाअनुसार उक्त चिनी खानयोग्य रहेकाले बजारमा बिक्री गर्नका लागि कर्पोरेशनलाई उपलब्ध गराइएको जानकारी दिए । विभागले बरामद गरिएको चिनीको नमूना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा सुक्षम विश्लेष्णको लागि पठाइएको थियो ।

‘विभागले उक्त चिनी खान योग्य रहेको प्रतिवेदन दिएपछि अहिलेको बजारको आवश्यकता पुरा गर्नका लागि उक्त चिनी बिक्री गर्नका लागि उपलब्ध गराएका छौं,’ विभागका महानिर्देशक चिलुवालले भने ।

उनका अनुसार व्यवसायिक घराना सन्तोष खेतानको नाममा उक्त व्यापारिक फर्म दर्ता छ । विभागले चिनीको बोरामा लेबल उल्लेख नभएको अभियोगमा ३ लाख रुपैयाँसमेत जरिवाना गरेको थियो ।

चिनीको अवैध भण्डारण गर्ने फर्मलाई वाणिज्य विभागले कमजोर कारबाही गरेर उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेको बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त चिनी सहुलित पसलमा बिक्री गर्ने निर्णय गरेको थियो ।

कर्पोरेशनका सह महाप्रवन्धक कुमारराज भण्डारीकाअनुसार प्रतिकिलो ९७ रुपैयाँ उपभोक्ता मूल्य कायम हुने गरि प्रति परिबारलाई २ किलोका दरले उक्त चिनी सुपथ मूल्य पसलमार्फत उपलब्ध गराउन थालिएको छ । यो चिनी सरकारी स्वामित्वको खाद्य व्यापार तथा व्यवस्था कम्पनीको सुपथ मूल्य पसलमार्फत पनि बिक्री हुँदैछ ।


क्लिकमान्डु