चाडवाडको समयमा बैंक वित्तीय संस्थामा विशेष निगरानी, सादा पोसाकका सुरक्षाकर्मी परिचालन
काठमाडौं । चाडवाडको समयमा वित्तीय संस्थाबाट रकम लिएर निस्कने बेलामा हुनसक्ने लुटपाट नियन्त्रण गर्न नेपाल प्रहरीले विशेष योजना कार्यान्वयनमा ल्याएको छ । दसैं, तिहार र छठको समयमा अत्यधिक आर्थिक कारोबार हुने बैंक तथा वित्तीय संस्थानजिक सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरी नेपाल प्रहरीले विशेष योजना परिचालनमा ल्याएको हो ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार योजना कार्यान्वयनमा ल्याउन उपत्यकामा ५ हजार ८३३ प्रहरी परिचालन गरिएको छ । बैंक र वित्तीय संस्थावरिपरि लुटपाटका घटना हुन नदिन विशेष निगरानीका लागि थप संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको मैनालीले जानकारी दिए ।
उनका अनुसार प्रहरीलाई शंका लागेको अवस्थामा तत्कालै शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिनुका साथै बैंक, वित्तीय संस्था र ग्राहकको रकम लुटपाट गर्न खोज्ने व्यक्ति वा समूहलाई तत्कालै पक्राउ गर्ने र पक्राउ गर्न नसके गोलीसम्म हान्ने निर्देशन दिइएको छ ।