बजार मूल्यको अनुगमन गर्न लेखा समितिको निर्देशन



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गैरकानुनी रुपमा खुला सीमामार्फत भित्रिने चिनीलगायतका सम्पूर्ण उपभोग्य वस्तुको बजार मूल्य नियन्त्रणमा राख्न सम्बन्धित निकायसँग आवश्यक समन्वयका लागि सरकारलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले सबै वस्तुको मूल्यसूची पसलमा अनिवार्य टाँस गर्ने व्यवस्था मिलाउन र उपभोक्तालाई अनिवार्य बिलविजक दिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले वस्तु तथा सेवाको गुणस्तर र बजार मूल्यको नियमित अनुगमन गर्न गराउन, गैरकानुनी कार्य गर्नेलाई तत्काल कारबाही गर्न, विभिन्न वस्तु आयात गर्दा हुने गरेको गैरकानुनी पुँजी पलायनलाई तत्काल नियन्त्रण गर्न र आयात गर्दा गरिने न्यून बिजकीकरणको अनुगमन गरी नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकपछि समितिका सभापति ऋषिकेश पोखरेलले कालोबजारी र सिण्डिकेट तथा उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय तहमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्ने गरी आवश्यक समन्वय गर्न र त्यसको सेवा प्रवाहको अवस्था अनुगमन मूल्यांकनका लागि आवश्यक संयन्त्र निर्माण गर्न निर्देशन दिइएको बताए ।

सभापति पोखरेलले ग्यास उद्योगहरूले होटललगायत औद्योगिक प्रयोजनका लागि ५० किलो र ४५० किलोका सिलिन्डर बिक्री गरेको विषयमा के-कसो भएको हो भन्नेबारेमा पत्राचार गरेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै जानकारी प्राप्त नभएकाले ३ दिनभित्रमा आवश्यक जानकारी उपलब्ध गराउन सरोकारवाला निकायलाई निर्देशन दिएको जानकारी गराए । समितिले गैरकानुनी कार्य गर्ने ग्यास उद्योगलाई कानुनबमोजिम कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु