भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी, १५ वर्षपछि जुम्लाका भेडा म्याग्दीमा
म्याग्दी । कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बेच्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् ।
जुम्लाको पातारासी गाउँपालिकाका तीर्थराज बोहराको टोली २७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा सोमबार म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामी गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ,’ उनले भने, ‘यहाँ ल्याइपुर्याउँदा एउटा रोज्जा च्याङ्ग्राको मूल्य ५० देखि ५५ हजार परेको छ ।’
उनीहरु जुम्लादेखि डोल्पा, रुकुम पश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन् । मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन् ।
स्थानीयका अनुसार करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन् । भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ । तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आएका हुन् ।
हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको श्यामराज बोहराले बताए । ‘सबैले महँगो भयो भन्छन्,’ उनले भने, ‘पोखरासम्म पुर्याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।’ दसैं पर्वलाई लक्षित गरेर यसपाली म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा आइपुगेका हुन् ।
म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायतका जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । मुस्ताङका कृषकका गोठबाट संकलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरिद गरेर निकासी गर्छन् ।
च्याङ्ग्राको हुल भित्रिएसँगै दसैं आगमनको महसुस गराउँछ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विशेष गरी लेकाली जडीबुटी खाने भएकाले दसैंतिहारजस्ता पर्वमा पोषिलो मासुका रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्छ ।
स्वादिलो र पोषिलो हुने भएकाले दसैंमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताए । तीन वर्षअघि प्रतिवटा २५ हजार रुपैयाँमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन् ।