४५ सय बढी नेपाली रहेको इजरायलमा आक्रमण भएको तीन दिनपछि नेपालमा बैठक



काठमाडौं । इजरायलमा जारी पछिल्लो द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक अहिले मन्त्रालयमा बसिरहेको छ ।

सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने छ ।

शनिबार बिहानै इजरायलमा प्यालेस्टाइन समूह हमासले आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीले समेत ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

४५ सयभन्दा बढी नेपाली रहेको इजरायलमा आक्रमण भएको तीनदिन पछि इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफलका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा बैठक बसिरहेको हो । कयौं नेपाली आक्रमणबाट बच्न बंकरभित्र भोकभोकै लुकिरहेको समाचारहरु सार्वजनिक भएका छन् ।


क्लिकमान्डु