चीनमा बनेको टेस्लाको बिक्री ११ प्रतिशतले घट्यो



काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाको चीनमा बनेका गाडीहरुको बिक्रीमा भारी गिरावट आएको छ । सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा कम्पनीले झण्डै ११ प्रतिशतले कम गाडी बिक्री गरेको छ ।

कम्पनीकाअनुसार चीनमा बनेका विद्युतीय गाडीको बिक्री सेप्टेम्बरमा १०.९ प्रतिशतले कम भइ ७४ हजार ७३ वटामा सीमित भएको छ ।

चिनियाँ यात्रुवाहक गाडी संगठनले सार्वजनिक गरेको यो तथ्यांकले चीनमा बनेका टेस्लाको गाडीहरुको बिक्रीमा कमी आएको देखाएको हो ।

चीनमा बनेका टेस्लाका मोडल थ्रि र मोडल वाईको बिक्रीमा पनि अघिल्लो महिनाको तुलनामा सेप्टेम्बरमा १२ प्रतिशतको कमी आएको छ ।

टेस्लाको बिक्रीमा कमी आइरहँदा यसको प्रतिस्पर्धी बिवाईडीको बिक्रीमा भने ४२.८ प्रतिशतको वृद्धि देखिएको छ । बिवाईडीको डायनेस्टी र ओसियन सिरिजका विद्युतीय गाडी तथा पेट्रोल र विद्युतीय दुवै रहेका हाइब्रिड गाडीहरुको वृद्धिमा ४२.८ प्रतिशतको वृद्धि भएर सेप्टेम्बरमा २ लाख ८६ हजार ९०३ वटा बिक्री भएको हो ।

टेस्ला चीनमा बनेका विद्युतीय गाडीहरुको सबैभन्दा ठूलो निर्यातकर्ता हो । कम्पनीले हाल पनि आफ्ना अधिकतम गाडीहरु चीनमा बनाएर युरोप तथा अन्य देशहरुमा बिक्री गर्दै आएको छ ।


क्लिकमान्डु