इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक



काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धार, स्वदेश फिर्ती, राहतलगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् ।

सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।

मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबार सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ ।

नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारका तर्फबाट आवश्यक पहल गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले इजरायलमा हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि पहल गरेका हुन् । प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । त्यस्तै प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका थिए ।

इजरायल-हमास युद्धमा परेका र फसेका नेपालीको अवस्थाबारे यकिन गर्न र उनीहरूको उद्धार गर्न आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अंकका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए ।

बैठकले परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अंकका प्रतिनिधि, विदेशस्थित दूतावास र नियोग सहभागी एक र्‍यापिड एक्सन टिम गठन गरेको छ । टिमले उद्धार र नेपाली फिर्तीसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ ।

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रुत सूचना संयन्त्र खडा गरेको पनि जनाएको छ ।


क्लिकमान्डु