हमास हमलापछि इजरायलको स्टक एक्सचेन्जमा ७ प्रतिशतको गिरावट



काठमाडौं । प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरायलमाथि गरेको हमलापछि इजरायलको तेल अविव स्टक एक्सचेन्जमा भारी गिरावट आएको छ ।

इजरायलका ब्लु चिप कम्पनीहरुको टीए-३५ स्टक इन्डेक्स ७ प्रतिशतभन्दा धेरैले गिरावट भएर १७ सयमा झरेको छ । त्यस्तै, बेन्चमार्क टीए-१२५ इन्डेक्समा ६.९९ प्रतिशतले गिरावट आई १७२९ मा झरेको छ ।

त्यस्तै पाँच सबैभन्दा ठूला बैंकको सेयर मूल्यमा १० प्रतिशतको कमी आएको छ । इजरायल र प्यालिस्टाइनबीचको द्वन्द्वका बीच मध्यपूर्वका अन्य देश कुवेत, कतार, ओमान, बहराइन र इजिप्टको सेयर बजारमा पनि गिरावट आएको छ ।

प्यालिस्टाइन र इजरायलबीच शनिबार युद्ध सुरु भएको थियो । हमासको रकेट हमलाका कारण इजरायलमा ३० जना सैनिकको मृत्यु भएको बताइएको छ । त्यस्तै, इजरायलको रक्षा मन्त्रालयले जवाफी हमलामा हमासका ४ सय लडाकुको मृत्यु भएको र कयौंलाई नियन्त्रणमा लिएको जनाएको छ ।

मध्यपूर्वको इजरायल र प्यालेस्टाइनको यो क्षेत्रमा संघर्ष सय वर्षभन्दा अघिबाट चलिरहेको छ । यहाँको वेस्ट बैंक, गाजा पट्टि र गोलन हाइट्स क्षेत्रमा विवाद छ । प्यालेस्टाइन यी क्षेत्र पूर्व जेरुसेलममा रहेको बताउँछ भने इजरायलले पनि जेरुसेलममा दाबी छाडेको छैन ।


क्लिकमान्डु