कुमारी क्यापिटलको विशेष लगानीकर्ता सचेतना, धितोपत्रमा लगानी गर्दा हुने फाइदाबारे चर्चा



काठमाडौं । कुमारी क्यापिटलले ‘विश्व लगानी सप्ताह २०२३’ को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ ।

पाल्पाको तानसेनमा बसोबास गर्ने लगानीकर्तालाई सेयर बजारमा सहभागिता जनाउन र लगानीबाट हुने सम्भावित फाइदाबारे जानकारी गराउने उद्देश्यले पाल्पास्थित कुमारी बैंक तानसेन शाखासँगको सहकार्यमा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

सेबोनको प्रतिनिधित्व गर्दै वसन्त रसालीले नियामक अनुपालन र जिम्मेवार लगानीको महत्त्वमा जोड दिए । उनले सहभागीलाई सेबोनले तोकेका दिशानिर्देशको पालना गर्दै लगानीका अवसर खोज्न प्रोत्साहित गरे ।

कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङ प्रमुख ममिन शाक्यले सेयर बजारको लगानी रणनीतिबारे जानकारी गराउँदै धितोपत्रमा लगानी गर्दा हुने दीर्घकालीन फाइदाबारे चर्चा गरे । उनले सफल लगानी पोर्टफोलियो निर्माणमा अनुसन्धान, जोखिम व्यवस्थापन र विविधीकरणको महत्वबारे प्रकाश पारेका थिए ।

लगानीकर्ता सचेतना कार्यक्रममा स्थानीय लगानीकर्ताको सक्रिय सहभागिता रहेको कुमारी क्यापिटलले जनाएको छ । उनीहरुले उत्सुकतापूर्वक स्टक बजार लगानीको बारेमा प्रश्न उठाएका थिए ।


क्लिकमान्डु