भेपमा सुन तस्करी: महराविरुद्ध मुद्दा नचल्ने, छोरा राहुलसहित तीन जनालाई मुद्दा चलाउन सिफारिस
काठमाडौं । प्रहरीले विद्युतीय सिगरेट (भेप)मा सुन तस्करी भएको विषयमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) भेपमा सुन तस्करी भएको विषयमा पूर्वसभामुखसमेत रहेका महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्षमा पुगेको हो । महराका छोरा राहुलसहित तीन जनाविरुद्ध भने मुद्दा चलाउन सिफारिस गरिएको छ ।
सीआईबीले सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतबार बुझाएको प्रतिवेदनमा राहुलसहित दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २०७९ माघ २९ मा दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप बरामद गरेको थियो ।
माओवादी नेता महराले सुनसहितको भेप छुटाउन दबाब दिएको खुलेको थियो भने उनका छोरा राहुलको चिनियाँ नागरिक वाङसँग निकट सम्बन्ध देखिएको थियो ।