सरकारले ल्याएको विद्युत विधेयकलाई परिमार्जन गर्नुपर्छः रमेश लेखक
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा उनले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताएका हुन् । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
‘यो विधेयकलाई परिमार्जन गर्न, समृद्ध बनाउन आवश्यक छ भन्ने म आग्रह गर्न चाहन्छु । यो विधेयकलाई सार्वजनिक क्षेत्रलाई अलि बढी महत्व दिएर निजी क्षेत्रलाई कमजोर आँकलन गरेको हो कि भन्ने आशंका गरिएको छ । यसतर्फ हामीले गम्भिरतापूर्वक हेर्नुपर्ला । र सरकारी र निजी क्षेत्र दुवैलाई यो काममा संलग्न गराउनु पर्ला विद्युत उत्पादनका लागि । यतातर्फ हेर्नुपर्ला भन्ने आग्रह गर्न चाहन्छु’ उनले भने ।
प्रमुख सचेतक लेखकले सरकारले विधेयक राम्रो ल्याएको र त्यसलाई गम्भिरतापूर्वक छलफल गरेर अघि बढाउनुपर्ने बताए ।