उद्योगमन्त्री रिजालले गरे सुपथ मूल्य पसल उद्घाटन, चिनी ९७ रुपैयाँ किलो, अरु कति सस्तो ?



काठमाडौं । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गरेको छ । सुपथ मूल्य पसलको आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका छन् ।

उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यका र बाहिर गरी ८३ बिक्री स्थल रहनेछन् । काठमाडौं उपत्यकामा आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहनेछन् ।

त्यस्तै राजधानीबाहिर ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहनेछन् ।

राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगर खाद्य व्यवस्थाले सहुलियत पसले राख्ने जनाएको छ ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बजेट प्रदान गरेको छ ।

त्यस्तै साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ ।

त्यसैगरी दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २० र पनिर प्रति दुई सय ग्राममा २० रुपैयाँ छुट दिने जनाइएको छ ।


क्लिकमान्डु