चुनावमा करोडौँ असुली गर्न सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत राखियोः सांसद शर्मा



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोडौं असुली गर्नका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाएका छन् ।

सिंहदरबारमा शनिबार आयोजित सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले चुनावी प्रयोजनका लागि करोडौँ रुपैयाँ असुली गर्न सो विभाग प्रधानमन्त्रीले आफ्नो मातहतको कार्यालयमा राखेको जिकिर गरेका हुन् ।

सांसद शर्माले देशमा कानुनलाई टेकेर नै अपराध गर्ने काम भइरहेको तर्क गरे । क्यासिनो सञ्चालनका लागि तोकिएको पैसाको सीमाको दायरा बढाउने गरी कानुनी व्यवस्था गर्न पनि उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

अर्की सांसद नागिना यादवले देशको हित हुने गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताइन् । पर्यटकका लागि उपयोगी हुने खालका कानुन निर्माणमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सांसद यादवले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई यथास्थितिमा पारित गराउने पक्षमा आफूहरु नरहेको पनि पटक–पटक दोहोर्‍याइन् ।


क्लिकमान्डु