वीरगन्ज भन्सारको राजस्व घट्दै, भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम संकलन
पर्सा । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्याउने वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ ।
चालु आवको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा लक्ष्यभन्दा तीन अर्ब ७५ करोड ३२ लाख कम राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।
उनका अनुसार भदौका लागि विभागले १९ अर्ब ३८ करोड राजस्व संकलनको लक्ष्य दिएकामा १२ अर्ब ७१ करोड मात्र संकलन भएको छ ।
भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट संकलन हुने राजस्व घट्दै गएको ढकालले बताए । उनले मुख्य २० वस्तुबाट संकलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा ५३ प्रतिशत कम संकलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको जानकारी दिए ।
वीरगन्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व संकलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिए ।
उनले वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट संकलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट संकलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताए ।