बागलुङका होटलमै पाक्न थाले कोदोका परिकार
बागलुङ । केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । अहिले यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ ।
कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै गएको होटल व्यवसायी बताउँछन् ।
पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । अहिले होमस्टेसँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै गए पनि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका किसानले मात्रै व्यावसायिक रुपमा उत्पादन गर्ने गरेका छन् ।
रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा उत्पादनका लागि उपयुक्त हावापानी भए पनि कम मात्रामा खेती हुने गरेको छ । जङ्कफुड र आयातित खाद्यान्नमा निर्भर हुँदा किसानले कोदो खेतीलाई व्यावसायिक बनाउन सकेका छैनन् ।
केही वर्षयता बागलुङ बजारका होटलमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ थियो ।
माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको अध्यक्ष राजभण्डारीले बताए । बजारमा सहज रुपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ छ ।
‘पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेषगरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै मानिसमा प्रांगारिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,’ अध्यक्ष राजभण्डारीले भने, ‘कोदोको खेती कम भएर होला, भनेको समयमा पिठो पाउन सकिँदैन । कहिले गाउँबाट ल्याउँछौँ । कहिले यहीँ प्रांगारिक सामान बेच्ने पसलबाट ल्याउँछौँ । स्थानीय उत्पादनको महत्व मान्छेहरुले बुझ्दै गएका छन् ।’
किसान तिलबहादुर क्षेत्रीले पहिले कोदोका खाना घरबाहिर बसेर खाँदा पनि लजाउनुपर्ने स्थिति रहेको भन्दै अहिले धेरै मान्छेले ढिँडो मन पराउन थालेको बताए । उनले वार्षिक सात मुरी कोदो उत्पादन गर्दै आएका छन् ।
बजारबाट कोदोको पिठो किन्ने व्यापारी गाउँमै आउने गरेको भन्दै आम्दानी पनि राम्रो हुँदै गएको क्षेत्रीले बताए । उनले अघिल्लो वर्ष झन्डै ५० हजारको कोदो बिक्री गरेको सुनाए ।
जिल्लाभर १८ हजार ४५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । हरेक वर्ष २३ हजार ४५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए ।
उनका अनुसार अहिले यहाँका किसानले रैथाने रुपमा कोदो खेती गर्दै आएका छन् । जनमानसमा कोदोको महत्व बढ्दै गएपछि किसानहरु उत्पादनका लागि उत्साहित भएका उनले बताए ।
कृषि ज्ञान केन्द्रले कृषकलाई रैथाने जातका कोदोलगायतका खाद्यबाली लगाउनका लागि प्रेरित गर्दै विभिन्न कार्यक्रम गरिरहेको पुन मगरले बताए ।
यस वर्ष किसानले लगाएको कोदोमा खैरो थोप्ले र मरुवा रोग लागेकाले उत्पादनमा ह्रास आउने देखिएको पुन मगरको भनाइ छ । दुईवटा रोगको सङ्क्रमणका कारण कोदोको डाँठ कुहिएर बाला लाग्न नपाएको उनले बताए ।