यो साता सुनको मूल्य सामान्य घट्यो
काठमाडौं । अमेरिकी बजारमा सुनको बिक्री बढिरहँदा यो साता पनि विश्व बजारमा सुनको मूल्यमा गिरावट आएको छ । विश्व बजारमा सुनको माग घट्दो क्रममा रहेकाले आगामी दिनमा भने गिरावटको क्रम रोकिन सक्ने तर्क विश्लेषकहरुले गरेका छन् ।
लामो समयदेखि निरन्तर मजबुत बन्दै गएको अमेरिकी डलरको विनिमय दर यो साता केही कमजोर बनेको छ । अमेरिकी डलरको विनिमय दर थप कमजोर बन्दै गएको खण्डमा त्यसको प्रभाव सुन बजारमा देखिन सक्ने अनुमान विश्लेषकहरुले गरेका हुन् ।
नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९२ हजार ५९५ रुपैयाँ रहेको सुन साताको अन्तिम कारोबार भएको दिन शुक्रबार ९१ हजार ९९० रुपैयाँमा झरेको छ । जुन साताको पहिलो दिनको तुलनामा ६०५ रुपैयाँले कम हो ।
यो साता नेपाली बजारमा चाँदीको मूल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन १ हजार १६६ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार १ हजार १२३ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।