सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन भएको अवस्थाको अन्त्य गर्नुपर्ने र आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री महतले सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आवश्यक क्षेत्रको पहिचान गरी आगामी वर्षको बजेट विनियोजन हुनुपर्ने आवश्यकता रहेको बताए ।

‘सरकारले आउने बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ । त्यो गर्दा हाम्रा आवश्यकता के के छन् ? सबैभन्दा ज्यादा जनसंख्यालाई प्रभावित गर्ने, प्रभाव पार्ने विषय के छन् ? सेक्टर के छन् ? उपसेक्टरहरु के छन् ? चाहे स्वास्थ्यको,चाहे शिक्षा, पूर्वाधार विकासको क्षेत्रमा होस्, त्यसलाई मध्यनजरमा राखेर हामीले सबैभन्दा ज्यादा प्रभाव पर्ने विषय, सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्नुपर्छ । त्यही किसिमबाट श्रोतको पहिचान गर्नुपर्छ’ उनले भने ।

सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उनको भनाइ छ । सामाजिक सुरक्षाका दायित्व र वैदेशिक ऋणको दायित्व बढीरहेको अर्थमन्त्री महतको भनाइ थियो । तलव भत्ता कम गर्नसक्ने अवस्था नभएको उनले बताए । स्रोत तथा साधन न्यून र आवश्यकता धेरै भएको भन्दै उनले त्यसलाई चिरेर काम गर्नुपर्ने बताए ।

मन्त्री महतले थोरै स्रोत, साधनलाई प्राथमिकताका साथ कसरी खर्च गर्ने भन्ने चुनौति सरकारसँग रहेको बताए ।


क्लिकमान्डु