कानुनी छिद्र प्रयोग गरेर कैद मिनाह दिइएको बारे सरकारले जवाफ दिनुपर्छ: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानुन बनाउनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरित र कानुनको छिद्रबाट कैद मिनाहा गरिएको भन्दै सरकारी कदमको बिरोध गरे ।
सरकारले बद्नियतका साथ निर्णय गरेको उनको भनाइ थियो । गम्भीर अपराधमा दोषि ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने उनले माग गरे ।
सार्वजनिक रुपमा प्रश्न उठेको भन्दै उनले यसको जवाफ सरकारले दिनैपर्ने बताए ।
‘म सभामुखमार्फत सरकारसँग आग्रह गर्न चाहन्छु, सरकारले यहाँ उभिएर आएर यसको कारण हामीलाई बताउनुपर्छ । यसको फेस गर्नुपर्छ । जवाफ दिनुपर्छ । निर्णय आफू गरेर भाग्न पाइँदैन । हामीलाई यसको जवाफ चाहिन्छ । किन गरेको ? यत्रो सार्वजनिक प्रश्न उठेको छ । यसको बारेमा जवाफ दिनुपर्छ,’ उनले भने,’ दुईवटा, तीनवटा कानुन होइन अब, यो सबै छिद्र टाल्नुपर्ने छ । एउटै कानूनमा टेकेर मात्रै गर्ने ठाउँ हामीले बनाउनुपर्ने छ । कानूनको प्रशस्त अपव्याख्या भएको कारणले गर्दा स्वेच्छाचारी प्रयोग भएकाले गर्दा कार्यकारीको नियत ठिक नराख्ने अवस्था भएकोले गर्दा हाम्रो दायित्व के आयो भने हामीले त्यो सबै कानून यहाँ ल्याएर एकीकृत गरेर, संशोधन, परिमार्जन गरेर कहीँ कतैपनि त्यसको अपव्याख्या हुन नसक्ने गरी काम टुंग्याउनुपर्छ ।’
उनले फागुन ७ गतेभन्दा अगाडि नै कानून बनाउनुपर्ने र त्यसपछि यस्तो घटना दोहोरिन दिनु नहुने बताए ।