संसदीय समितिमा सुपारीको विषयमा छलफल, बजार सहज बनाउन निर्देशन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारीको विषयमा छलफल गरेको छ ।
समितिको सभापति अब्दुल खानको सभापतित्वमा बुधबार भएको उक्त छलफलमा सरोकारवाला निकायलाई बोलाएर सुपारीको उत्पादन, आयात र निर्यातको बिषयमा छलफल गरेको हो ।
समितिले यो बिषयमा अर्को बैठकमा थप छलफल गर्ने निर्णय गरेको छ । यसैगरी समितिले राजधानीमा मात्रै केन्द्रित रहेको चाडवाड केन्द्रित सुपथ मूल्य पसल दुर्गम र हिमाली जिल्लामा पनि सञ्चालनमा ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिका सचिब रामकुमार पौडेलका अनुसार चाडपर्वको समयमा जीरा, मरिच, धनिया, ल्वाङ, सुकुमेललगायत अन्य खाद्य वस्तुको अस्वाभाविक मूल्य बृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी र गैरकानुनी रुपमा भण्डारण भइरहेकाले यस्ता गतिविधीलाई नियन्त्रण गरी आम उपभोक्ताको लागि बजार सहज बनाउन पनि समितिले मन्त्रालयलार्य निर्देशन दिएको हो ।
कर्णाली प्रदेशको दुर्गम जिल्लामा नुन, चिनी, चामल, दाललगायतका अत्यावश्यक वस्तुको पर्याप्त आपूर्ति गर्न पनि उक्त मन्त्रालयलाई निर्देशन दिइएको समितिले जनाएको छ ।