भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई दिने घोषणा
काठमाडौं । २०२३ को भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरुलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।
प्रकाशको सबैभन्दा सुक्ष्म कोणलाई क्याप्चर गर्नका लागि प्रयोग गर्ने तीन वैज्ञानिकलाई पुरस्कार दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको हो ।
पुरस्कार पाउने वैज्ञानिकहरुमा पियर अगस्तिनी, फेरेन्क क्राउज र एन लहुलिए रहेका छन् ।
यी वैज्ञानिकहरुले प्रयोगात्मक रुपमा प्रकाशको सबैभन्दा सूक्ष्म तरंगलाई कसरी संरचित गर्न सकिन्छ भनेर देखाएका थिए । यसरी संरचित गरिएको प्रकाशको प्रयोग इलेक्ट्रोनको उर्जा परिवर्तनको तीव्र प्रक्रिया मापन गर्नका लागि प्रयोग गर्न सकिन्छ ।
पुरस्कार पाउने वैज्ञानिकहरुमा प्राध्यापक अगस्तिनी अमेरिकी ओहायो विश्वविद्यालयमा अध्यापनमा संलग्न छन् । त्यस्तै, प्राध्यापक क्राउज जर्मनीको प्लान्क इस्टीच्युटमा क्वान्टम अप्टिक्सको अध्यापन गर्छन् भने लहुलिए स्वीडनको एक विश्वविद्यालयमा अध्यापन गर्छन् ।
सोमबार २०२३ को चिकित्सातर्फको नोबेल पुरस्कार भने कोभिड १९ को खोप निर्माणमा योगदान पुर्याएका कटालिन कारिको र ड्रयु वेइस्सम्यानलाई दिने घोषणा भएको थियो ।