गृहमन्त्रीलाई ओलीको प्रश्न: सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिनसँग किन आत्तिनुभयो ?



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीमाथि प्रश्न गरेका छन् । सरकार सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिनसँग आत्तिएको ओलीको भनाइ थियो ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा ओलीले भेप र सय किलो सुन पक्राउ गरेकोबारे स्वतन्त्र छाबिन गर्न गृहमन्त्री किन आत्तिएको भन्दै प्रश्न गरे ।
‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ,’ उनले भने, ‘छानबिन गर्दा के बिग्रिन्थ्यो ? महासय तपाईं किन आत्तिनुभयो स्वतन्त्र निष्पक्ष छानबिनसँग ?’ उनले भने ।

गृहमन्त्री नारयणकाजी श्रेष्ठले मकवानपुरको एक कार्यक्रममा सरकार सुशासन अभियान सञ्चालन गरिरहेकोले विपक्षीले बिरोध गरिरहेको भन्दै ओलीले आपत्ति जनाए ।

सुशासन अभियान नभएर सरकारको काम भएको ओलीको भनाइ थियो । ‘सुशासन सरकारले निरन्तर कायम गर्ने हो कि अभियान हो ? सुशासन भनेको सरकारको नियमित कर्तव्य हो,’ ओलीले भने, ‘सुशासनको अभियान चलाएको त्यसलाई रोक्न विरोधी लाग्या छन् भनेर हेटौंडामा उधुम खोक्नुभयो ।’

सरकारले सुशासनको काम नियमित गर्नुपर्ने, सुरक्षा दिनुपर्ने र भ्रष्टाचार रोक्नुपर्ने बताए ।


क्लिकमान्डु