बतास एसोसिएट्स, एसओएस बालग्रामसहित तीन संस्थाले तिरेनन् कर, ७ दिनभित्र तिर्न सूचना



काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले एसओएस बालग्राम, बतास एसोसियट्स र पशुपति स्पिनिङ मिल्सका सञ्चालकलाई ७ दिनभित्र बक्यौता रहेको सम्पूर्ण कर तिर्न सूचना जारी गरेको छ ।

नगरपालिकाले एसओएस बालग्रामलाई बक्यौता रहेको सम्पत्ति कर तथा पशुपति स्पिनिंग मिल्स प्रालिका सञ्चालक र बतास एशोसियट्स प्रालिलाई बक्यौता रहेको कर तिर्नका लागि ७ दिने अल्टिमेटम दिएको हो ।

नगरपालिकाकाअनुसार वडा नम्बर २ मा रहेको एसओएस बालग्रामले बुझाउन बाँकी रहेको सम्पूर्ण बक्यौता घरजग्गा सम्पत्ति कर बुझाउन पत्रचार गर्दा पनि कर तिर्न नआएकाले सार्वजनिक सूचना निकालेर ७ दिनभित्र सम्पूर्ण बक्यौता रहेको घरजग्गा सम्पत्ति कर तिर्न निर्देशन दिएको छ ।

त्यस्तै, तत्कालीन पशुपति स्पिनिङ मिल्स प्रालिका सञ्चालक समितिका अध्यक्ष शिवकुमार अग्रवाल, सञ्चालक बिमला देवी अग्रवाल र सुमित कुमार अग्रवाललाई कम्पनीको नाममा रहेको जग्गा र त्यसमा रहेको भौतिक संरचनाको कर तिर्न निर्देशन दिएको छ । कम्पनी रजिष्टारको कार्यालयले २०७५ फागुन २७ गते दर्ता खारेज गरेको तत्कालीन पशुपति स्पिनिंग मिल्सको नाममा रहेको ७ हजार २.१० बर्गमिटरको क्षेत्रफलको जग्गा र उक्त जग्गामा रहेको भौतिक संरचनाको कर नतिरेकाले सार्वजनिक सूचनामार्फत कर तिर्न सूचित गराइएको नगरपालिकाले जनाएको छ ।

कर तिर्नका लागि पटक पटक पत्राचार तथा पहल गर्दा पनि आनाकारी गरेकाले सार्वजनिक सूचना निकालिएको नगरपालिाले जनाएको छ ।
बतास एशोसियट्सलाई नगरपालिकासँग २०७५ मंसिर २० मा भएको सोलार सडक बत्ती, व्यवसायिक सन्देश बोर्डको सञ्चालन तथा हस्तान्तरण लगायतको परियोजना सम्झौताअनुसार नगरपालिकालाई तिर्नुपर्ने विज्ञापन कर तथा रोयल्टी नबुझाएकाले उक्त कर तिर्न सूचित गराएको मध्यपुर थिमिले जनाएको छ ।


क्लिकमान्डु