बहालवाला सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको भन्दै बहालवाला सचिव मधु मरासिनीसहित ९ जना विरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्व सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सञ्जय शर्मासहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालीन बजेट महाशाखा प्रमुख मधु कुमार मरासिनीले नेसनल पेमेन्ट गटवे खरिदका लागि स्रोत सहमति दिने निर्णयमा हस्ताक्षर गरेको भन्दै उनीसहित ९ जनाविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारकाअनुसार ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरि २५ करोड रुपैयाँ खर्च गरेर नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी पुर्याएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल, सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर ओली र रामबहादुर बुढा र केन्द्रका कम्प्युटर इञ्जिनियर रामशरण गायकसमेतको मिलेमतोमा बजेट तथा कार्यक्रममै नभएको परियोजनामा बजेट महाशाखा प्रमुखले स्वीकृति दिएको अख्तियारको दाबी छ ।

उनीमध्ये शर्मा, उपाध्याय, पौडेल, बुढा, पोखरेल, गायक र मरासिनीविरुद्ध विरुद्ध २३ करोड २७ लाख बिगो कायम गरि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरिएको हो । त्यस्तै, श्रेष्ठविरुद्ध १७ लाख ९९ हजार ७ सय बिगो राख्दै र वली विरुद्ध ८९ लाख ७७ हजार ३९७ रुपैयाँ बिगो राख्दै मुद्दा दायर गरिएको छ ।


क्लिकमान्डु