१ अर्ब ३७ करोडमा बनिरहेको अतिथि स्वीट्स अपार्टमेन्टले १ अर्ब ऋण लिँदै



काठमाडौं । पोखराको लेकसाइड क्षेत्रमा निर्माणाधीन अतिथि स्वीट्स अपार्टमेन्टका लागि अतिथि स्वीट्स प्रालिले १ अर्ब ऋण लिने भएको छ ।

२०२० को डिसेम्बरमा स्थापना भएको अतिथि स्वीट्स प्रालिले हाल पोखराको लोकसाइडमा लक्जरी अपार्टमेन्ट निर्माण गरिरहेको छ । पृथ्वी राजमार्गसँग सहज रुपमा जोडिएको यो अपार्टमेन्ट पर्यटकीय रुपमा चर्चित क्षेत्रमा रहेको छ ।

होटल, घरजग्गा, एफएमसीजी र हर्बलको क्षेत्रमा दशकभन्दा लामो अनुभव भएका भरतराज शर्मा यो कम्पनीको मुख्य व्यवस्थापकका रुपमा रहेका छन् । उनी अतिथि रिसोर्ट एण्ड स्पा प्रालिको पनि अध्यक्ष हुन्, जुन पोखरामा सन् २०१२ बाट सञ्चालनमा रहेको छ ।

अतिथि स्विट्स प्रालिले पोखरामा ७२ हजार ३०३ स्क्वायर फिट जमिनमा फैलिएको लक्जरी अपार्टमेन्ट निर्माण गरिरहेको छ । कुल ५१ वटा कोठाहरु हुने यो अपार्टमेन्टका दुईवटा बिल्डिंगहरु हुनेछन् । हेल्थ क्लव, रुफटपमा इन्फिनिटी पुल, रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ क्षेत्रलगायतको सुविधाले सम्पन्न हुने यो अपार्टमेन्ट पूर्णरुपमा फर्निस्ड हुने बताइएको छ ।

निर्माणाधीन यो अपार्टमेन्टको कुल लागत १ अर्ब ३७ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको कम्पनीले जनाएको छ । जसमध्ये ७८ करोड ७० लाख रुपैयाँ कर्जाबाट लगानी गरिने बताइएको छ । निर्माणसँग सम्बन्धित ९० प्रतिशत काम सकिएको अपार्टमेन्टमा विद्युतीय, स्यानिटरी र फर्निसिङका कामहरु भने भइरहेका छन् ।

अपार्टमेन्ट आंशिक रुपमा २०२४ को जनवरीको मध्यदेखि र पूर्णरुपमा २०२४ को जुलाई मध्यदेखि सञ्चालनमा आउने बताइएको छ ।

हाल उक्त कम्पनीले १ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई १ अर्ब रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि डबल बि माइनस रेटिङ दिएको छ ।


क्लिकमान्डु