४ दिनपछि पूर्वराजाले भने- क्रिकेट खेलाडीहरुको विश्वकीर्तिमानले अत्यन्तै खुशी तुल्यायो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपाली टोलीले विश्वकीर्तिमान राखेकोमा बधाई एवं शुभकामना दिएकाक छन् ।
पूर्व राजाको संवाद सचिवालयले शनिबार दिउँसो सूचना जारी गर्दै १९ औं एशियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी – २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र खेलाडीहरुले राखेको विश्वकीर्तिमानले शाहलाई अत्यन्तै खुशी तुल्याएको जनाएको छ ।
‘देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतिहरुको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरुले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेका छन यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महशुस गरेका छौं’ पूर्वराजाको भनाइ छ ।
उनले विश्व कीर्तिमानहरु कायम राख्न सफल भएकोमा सबै खेलाडी र नेपाली क्रिकेट टीमलाई बधाई तथा शुभकामना दिएका छन् ।
गत बुधबार बिहान भएको खेलमा नेपालले मंगोलियाविरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको थियो । कुशल मल्लले टी-२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी अर्धशतक लगायतका आधादर्जन बढी कीर्तिमान नेपाली टोलीले बनाएको थियो ।