टी २० क्रिकेटमा नेपालले बनायो यी दुर्लभ कीर्तिमान
काठमाडौं । चीनमा जारी १९औं एसियाडअन्तर्गत पुरुष क्रिकेटमा बुधबार भएको खेलमा नेपालले मंगोलियाविरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी-२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी अर्धशतक प्रहार गरे ।
चीनको हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनायो । यसअघि अफगानिस्तानले आयरल्यान्डविरुद्ध र चेक रिपब्लिकले टर्कीविरुद्ध बनाएको समान २७८ रन नै उच्च स्कोर थियो ।
नेपालले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा ठूलो अन्तरको जितको कीर्तिमान समेत बनाएको छ । ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको थियो । नेपालले खेल २ सय ७३ रनले जितेको थियो । यो नै टी ट्वान्टी क्रिकेटमा सर्वाधिक ठूलो अन्तरको जित हो ।
नेपालका लागि कुशलले अविजित सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडेका छन् ।
दीपेन्द्रसिंह ऐरीले पनि विस्फोटक ब्याटिङ गरे । उनले १० बल खेल्दै ८ छक्काको सहयोगमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेका हुन् । दीपेन्द्रले भारतका युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे ।
कप्तान रोहित पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मद्दतमा ६१ रन बनाए । नेपालले ७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको थियो । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भएका थिए ।