समस्याग्रस्त ५ सहकारीका ४२ बचतकर्ताले पाए १७ लाख फिर्ता

105
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ ।

मंगलवार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित वागमती प्रदेश सुशासन केन्द्रमा ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गरे।

प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो।

बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले समस्याग्रस्त पाँच सहकारीका १४ हजार ६४ जना बचतकर्ताले बचत फिर्ताको मागदाबी गरेको जानकारी दिए। उनका अनुसार यी पाँच सहकारी संस्थामा कुल ५१ हजार १९० सदस्यको करिब ३१ अर्ब ६ करोड रुपैयाँ बचत रकम रहेको छ। त्यसमध्ये २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको बचत फिर्ताको मागदाबी आएको उनले बताए।

उनले पहिलो चरणमा १० हजारदेखि एक लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न थालिएको जनाए। सहकारीलाई राज्यले अनुमति दिए पनि प्रभावकारी अनुगमन हुन नसक्दा बचतकर्ताको रकम असुरक्षित बनेको स्वीकार गर्दै उनले आगामी दिनमा सहकारी क्षेत्रको नियमन र अनुगमनलाई थप कडाइ गरिने बताए।

उनले आगामी दिनमा सहकारीका ऋणीबाट तथा सञ्चालकबाट असुल गरेर बचतकर्ताको रकम फिर्ता गरिने बताए।

Skip This