काठमाडौंभित्रका यी सडकमा सवारी प्रवेशमा रोक



फाइल तस्बिर

काठमाडौं । इन्द्रजात्राका कारण काठमाडौं महानगरपालिकाभित्रका विभिन्न ठाउँका सडकहरु अवरुद्ध हुने भएका छन् ।

काडमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको इन्द्रजात्राका क्रियाकलापहरु सुरु भएकाले विभिन्न क्षेत्रमा सवारीसाधनको प्रवेश बन्द गरिएको जनाएको छ ।

जात्राका सांस्कृति, सामाजिक तथा धार्मिक क्रियाकलापहरु हिँडेर सञ्चालन हुने भएकाले सवारी साधन प्रवेश नगराउन महानगरले आग्रह गरेको छ ।

महानगरकाअनुसार जात्राका विशेष दिनमा सवारीहरु प्रवेश नगराउन अनुरोध गरिएको हो । जसमा असोज ११ गते बसन्तपुरदेखि चिंकमुगल हुँदै जैसीदेवलबाट लगन तथा भीमसेन स्थान हुँदै बसन्तपुरसम्म क्वने याः (तल्लो टोल) रथ यात्रा रहेको छ ।

त्यस्तै, असोज १२ गते बसन्तपुरबाट नरदेवी हुँदै न्ह्योखाबाट असन तथा इन्द्रचोक हुँदे मखन र हनुमानढोकाबाट बसन्तपुरसम्म थने याः (माथिल्लो टोल) रथ यात्रा रहेको छ ।

असोज १५ गते भने नानिचा याः (महिलाहरुले रथ तान्ने दिन) रहेको छ । उक्त दिनमा बसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म रथ यात्रा हुने महानगरले जनाएको छ ।

रथयात्रा हुने समय र स्थानमा सवारी साधन प्रवेश नगराउन र सो बाटो प्रयोग गर्ने यात्रुले वैकल्पिक बाटो वा पैदल यात्रा गरेर यातायात व्यवस्थापनमा सहयोग गर्न महानगरले अनुरोध गरेको छ ।


क्लिकमान्डु