भित्री कारोबारबाट गुरु न्यौपानेले कमाएको सम्पत्ति जफत गर्न माग गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपानेले पदमा रहेका बेला पदको दुरुपयोग गर्दै भित्री कारोबार गरेको पाइएपछि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
न्यौपानेले भित्री सूचनाका आधारमा कम्पनीको सेयर बिक्री गरेर अनुचित लाभ लिएको पाएपछि विभागले मुद्दा दायर गर्न लागेको हो । विभागले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल समेत पाइसकेको विभाग स्रोतको भनाइ छ ।
‘धितोपत्र ऐनविपरीत न्यौपानेले भित्री सूचनाको आधारमा सेयर किनेको पाएपछि धितोपत्र बोर्डले अनुन्धान गरेर काठमाडौं जिल्ला आदालतमा मुद्दासमेत चलाइसकेको छ । त्यो सेयर खरिद-बिक्री हुँदा उहाँले कति सम्पत्ति आर्जन गर्नुभयो त्यो विषयमा हामीले अनुसन्धान सम्पन्न गरेर सरकारी वकिलको कार्यालयमा फाइल पठाएका छौं,’ विभाग स्रोतले भन्यो, ‘उहाँले सेयर किन्दा र बिक्री गर्दा कति आर्जन गर्नुभयो भनेर हेर्ने हो । पदमा रहेको समयमा किनेको सेयर नै अवैध भयो । पदमा रहेको समयमा किनेको सेयर जफतको दाबी लिएको हो । कानुनविपरीत कारोबार भएको कारण त्यो सेयरका जफतको दाबी लिएको हो ।’
विभागका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा २५ को २ अनुसार रिफर आएको अनुसन्धानलाई ऐनको दफाअनुसार विभिन्न खाले क्रियाकलाप गरेको पाइएको छ । विभागले ऐनको दफा ३ को ‘क’ र ‘ख’ अनुसार मुद्दा चलाउने तयारी गरेको छ ।
दफा ३ को ‘क’ मा सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा-पाउँदै वा विश्वास गर्नुपर्ने मनासिव आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने र ‘ख’ मा कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा-पाउँदै वा विश्वास गर्नुपर्ने मनासिव आधार हुँदाहुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग (डिस्पोजिसन), कारोबार (मुभमेन्ट), स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने भन्ने व्यवस्था छ ।
ऐनको दफा २५ अनुसार धितोपत्र बोर्डले पत्र पठाएपछि विभागले अनुसन्धान गरेर मुद्दा चलाउन लागेको हो । ऐनको दफा २५ को २ मा ‘प्रचलित कुनै कानुनअन्तर्गतको कसुरमा संलग्न व्यक्तिले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुर मानिने कार्य गरेको देखिएमा त्यस्तो कसुर अनुसन्धान गर्ने निकाय वा अधिकारीले विभागलाई सोको जानकारी दिनुपर्नेछ’ भन्ने व्यवस्था छ ।
विभागले अनुसन्धान सकेर करिब २० दिनअघि सरकारी वकिलको कार्यालयमा पठाएको थियो । सम्भवत: यसै साता विशेष अदालतमा मुद्दा दायर हुनेछ ।
न्यौपाने २०७७ चैत १९ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए । न्यौपाने अध्यक्ष भएको समयमा २०७७ चैत १९ देखि २०७८ साउन २४ सम्म रिडी पावरको १४ पटकमा ६२ लाख ४३ हजार ५७३ रुपैयाँबराबरको २९ लाख ९५३ कित्ता सेयर खरिद र १२ पटक २ करोड ६१ लाख ५३ हजार ८२५ रुपैयाँको ३९ हजार २२३ कित्ता सेयर बिक्री गरेको पाइएको छ ।
उनी अध्यक्ष भएका बेला २०७८ जेठ ४ गते रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता सेयर बिक्री गर्ने निणर्य गरेको थियो ।
उनले निर्णय जेठ ४ गते गरेको भए पनि २०७७ चैत १९ गते, २२ गते, २३ गते, २४ गते, २०७८ वैशाख १४ गते १५ गते ६२ लाख ४३ हजार ५७३ रुपैयाँबराबरको २९ लाख ९५३ कित्ता सेयर खरिद गरेका थिए । यस्तै न्यौपानेले २०७८ असार २ गते, ३ गते र साउन २४ गते २ करोड ६१ लाख ५३ हजार ८२५ रुपैयाँको ३९ हजार २२३ कित्ता सेयर खरिद गरेका थिए ।
उनले त्यो समयमा प्रतिकित्ता २०३ देखि २१२ रुपैयाँसम्म किनेका थिए भने प्रतिकित्ता ५८६ देखि ७३१ रुपैयाँसम्म बिक्री गरेका छन् । प्रधानले उक्त सेयर श्रीमती सुमित्रादेवी न्यौपाने, छोराहरु सञ्जीव न्यौपाने, सतिश न्यौपाने, बुहारीहरु सलिना नेपाल र सिर्जना खड्काको नाममा खरिद-बिक्री गरेको स्रोतको दाबी छ ।
न्यौपानेले भित्री कारोबार गरेको भन्दै २०७९ चैत ८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । न्यौपानेले भित्री कारोबार गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत नेपाल धितोपत्र बोर्डले अदालतमा मुद्दा दायर गरेको हो । बोर्डले ३ करोड २३ लाख ९७ हजार रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरेको छ ।