हिमालय सुगर मिल्सको व्यापारमा ६७ प्रतिशतको कमी, २ अर्ब ४४ करोड ऋण लिँदै



काठमाडौं । हिमालय सुगर मिल्स लिमिटेडको व्यापारमा यो वर्ष ६७ प्रतिशतको कमी देखिएको छ । कम्पनीको मार्जिनमा धेरै फरक नभए पनि व्यापारमा भने उच्च गिरावट देखिएको छ ।

२०२१ मा हिमालय सुगर मिल्सले ८९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा कम्पनीको व्यापारमा उच्च वृद्धि हुँदा १ अर्ब २३ करोड ९० लाख रुपैयाँको व्यापार भएको थियो ।

२०२३ मा भने २०२२ को तुलनामा ६७ प्रतिशतले गिरावट हुँदे व्यापार ३९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको व्यापारमा उच्च गिरावट आउनुको कारण आफूसँग भएका प्रमुख ग्राहकहरुको अर्डर पूरा गर्न नसक्नु रहेको कम्पनीले जनाएको छ ।

यो अवधिमा कम्पनीको मार्जिन हेर्ने हो भने त्यसमा भने खास फरक छैन । २०२१ मा कम्पनीको मार्जिन २०.३५ प्रतिशत थियो । २०२२ मा २५.०२ प्रतिशत पुगेको मार्जिन २०२३ मा २०.९१ प्रतिशतमा सीमित भएको छ ।

सन् २०१० मा सुरु भएको हिमालय सुगर मिल्स लिमिटेडको सिराहको चन्द्रयोधपुरमा कारखाना रहेको छ । उक्त कारखानाबाट दैनिक रुपमा २५ सय मेट्रिक टन उखु पिन्न सकिने र सल्फर नरहेको रिफाइन्ड चिनी उत्पादन हुने क्षमता रहेको छ ।

यो कम्पनी एमएस ग्रुप र एसबी ग्रुपको संयुक्त लगानी रहेको कम्पनी हो । कम्पनीमा तीन जना निर्देशक रहेको बोर्ड छ, जसको नेतृत्व सुमित कुमार अग्रवालले गरेका छन् ।

कम्पनीले हाल २ अर्ब ४४ करोड ७६ लाख रुपैयाँ ऋण लिन रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई ९४ करोड ७६ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि डबल बि रेटिङ दिएको छ भने १ अर्ब ५० करोड रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु