रियल स्टिल्सले एकै वर्ष गर्‍यो १ अर्ब २३ करोडको व्यापार, १ अर्ब ५० करोड ऋण लिँदै



काठमाडौं । रियल स्टिल्स प्रालिले एकै वर्ष १ अर्ब २३ करोड बढीको व्यापार गरेको छ । कम्पनीको व्यापार र मार्जिन गतवर्षभन्दा कम भएको छ ।

विगत दुई वर्षमा निरन्तर उकालो लागेको रियल स्टिल्सको व्यापार २०२३ मा आएर भने केही कम भएको हो भने मार्जिन पनि २०२३ मा नकारात्मक भएको छ ।

सन् २०१८ सुरु भएको रियल स्टिल्स प्रालिले सन् २०२० जनवरीदेखि वीरगञ्जमा रहेको आफ्नो कारखानाबाट व्यवसायिक उत्पादन सुरु गरेको थियो । कम्पनीले वार्षिक ४९ हजार ८ सय मेट्रिक टन स्टिलसँग सम्बन्धित सटर, कोइल सिट, लक प्लेटजस्ता सामग्रीहरु उत्पादन गर्दै आएको छ ।

२०२१ मा कम्पनीको व्यापार १ अर्ब १५ करोड ८० लाख रुपैयाँ थियो । २०२२ मा त्यसमा वृद्धि भएर १ अर्ब ३७ करोड ५० लाखको व्यापार गरेको कम्पनीको २०२३ को व्यापार भने कम भएर १ अर्ब २३ करोड १० लाख रुपैयाँ भएको छ ।

कम्पनीको यो वर्षको मार्जिन पनि नकारात्मक रहेको छ । कम्पनीको २०२१ को मार्जिन १०.८५ प्रतिशत थियो । २०२२ मा मार्जिनमा पनि गिरावट आएर ९.४७ प्रतिशत मार्जिन रहेकोमा २०२३ मा भने नकारात्मक मार्जिन देखिएको छ । व्यापार र मार्जिन दुवैमा गिरावट आउनुको कारण आयातका क्रममा लाग्ने खर्च रहेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीले १ अर्ब ५० करोड ६० लाख रुपैयाँको कर्जा सुविधा लिनका लागि रेटिंग गराएको छ । जसमा रेटिंग एजेन्सी केयर रेटिंगले कम्पनीलाई ४३ करोड १९ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि बि प्लस रेटिंग दिएको छ । त्यस्तै, १ अर्ब ७ करोड ५० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि कम्पनलिे ए फोर रेटिंग पाएको छ ।


क्लिकमान्डु