नेप्से ४४ अंकले बढ्यो, कारोबार रकममा पनि उच्च वृद्धि, जलविद्युत र वित्त समूहमा उछाल



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ अंकमा उक्लिएको हो ।

परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य ढंगले बढेको छ । आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार रुपैयाँबराबरमा किनबेच भएको छ ।

कारोबार रकम सोमबारको तुलनामा झन्डै तीन गुणा हो । सोमबार १ अर्ब १४ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

आइतबारदेखि बजार लगातार उकालो लागिरहेको छ । आइतबार ४.२६ अंकले बढेको बजार सोमबार १६.२४ अंकले उकालो लागेको थियो ।

आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् समूहको उपसूचक ५.३१ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक ४.३८ प्रतिशतले बढेको छ ।

आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २० करोड १८ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावरको सात लाख २९ हजार २३२ कित्ता सेयर किनबेच भएको छ ।


रवि धिताल