वैदेशिक रोजगारीमा जानेको संख्या दुई वर्ष यताकै कम
काठमाडौं । भदौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या करिब दुई वर्षपछि कै कम भएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार करिब दुई वर्षपछि भदौ महिनामा हालसम्मकै कम नेपालीहरु विदेशिएका छन् ।
कोरोना महामारीका कारण प्रभावित भएको वैदेशिक रोजगारी कोभिडपछि ह्वात्तै बढेको थियो । गत वर्ष हालसम्मकै धेरै नेपाली विदेशिएका थिए । तर, यो वर्षको शुरुवात देखिनै रोजगारीमा जानेको संख्या घट्दै गएको पाइएको छ ।
नेपालबाट २०७८ को असोजमा कोभिडले प्रभावित भएको समय ३९ हजार ६७१ जना विदेशिएका थिए । त्यसपछि रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको थियो । त्यसपछि चालु आर्थिक वर्षको भदौ महिनामा २०७८ को असोजपछिकै कम नेपाली युवा विदेशिएका छन् ।
भदौ महिनामा ५० हजार ८८४ जना नेपाली विदेशिएका छन् । गत साउनमा ५५ हजार ५७५ जना नेपाली विदेशिएका थिए । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा भदौ महिना विश्वका १०२ मुलुकमा रोजगारीको खोजीमा पुगेका छन् ।
भदौमा ४४ हजार १९७ जना पुरुष र ६ हजार ६८७ जना महिला रहेका छन् । उक्त अवधिमा ३५ हजार ३०३ जनाले नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् भने १५ हजार ५८१ जना पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् ।
भदौ महिनामा नेपालबाट सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (युएई)मा रोजगारीको खोजीमा पुगेका छन । भदौमा मात्रै युएईमा ११ हजार ७०९ जना पुगेको विभागले जनाएको छ । त्यसपछि कतारमा ९ हजार ७६७ जना, साउदी अरेबियामा ८ हजार ८३९ जना, मलेसियामा ८ हजार १६९ जना, कुवेतमा ३ हजार ३६१ जना र माल्टामा १ हजार ५३ जना पुगेका छन् ।
एक हजार बढी माल्टा पुगे
भदौ महिनामा खाडी मुलुकबाहेक युरोपमा जानेको संख्या उच्च छ । भदौमा माल्टामा १ हजार ५३ जना नेपाली रोजगारीको खोजीमा पुगेका छन् । त्यसपछि जापानमा ९४६ जना, क्रोसियामा ८९२ जना, साइप्रसमा ४७७ जना, माल्दिभ्समा ६५९ जना, मौरिससमा ५४६ जना, पोल्यान्डमा २५३ जना, दक्षिण कोरियामा ८७२ जना र रोमनियामा ५४२ जना पुगेका छन् ।
त्यसैगरी, रसियामा १६१ जना, सर्बियामा १५२ जना, बेलायतमा १८७ जना, चीनमा २७५ जनाले चीनका लागि श्रम स्वीकृति लिएका छन् । भदौमा ७३१ वटा म्यानपावरबाट २७ हजार १७१ जना विदेशिएका छन् ।
दक्ष कामदार विदेशिँदै
पछिल्लो समय दक्ष कामदार बढी विदेशिएको पाइएको छ । विगतका वर्षहरुमा अदक्ष कामदार विदेशिदा दुर्घटनालगायत विभिन्न समस्या आएको भन्दै सरकारले तालिममा जोड दिँदै आएको छ । सरकारले हरेक वर्ष हजारौं जनालाई तालिम दिँदै आएको छ । सोहीअनुसार विदेशमा दक्ष कामदार विदेशिने संख्या बढेको विभागले जनाएको छ ।
भदौमा ५० हजार ८८४ जना विदेशिँदा १० हजार ८४९ जना नेपाली मात्रै अदक्ष कामदार विदेशिएका छन् । त्यसबाहेक ३५ हजार ८१० जना दक्ष, ४ हजार ९९ जना अर्धदक्ष, ८७ जना प्रोफेशनल र ३९ जना उच्च दक्ष भएको नेपाली विदेशिएका छन् ।