बालेन भन्छन्- शिक्षा विधेयकमा असहमति छ तर स्कुल बन्द गरेर अवरोध पुर्‍याए कारबाही हुन्छ



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले शिक्षा विधेयकमा असहमति भए पनि शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्‍याए कारबाही हुने बताएका छन् ।

नगर प्रमुख बालेनले सामाजिक सञ्जालमार्फत शिक्षा विधेयकमा महानगरपालिकाको पनि असहमति रहेको बताएका छन् । महानगरभित्रमा २ लाख ५० हजार विद्यार्थी र १० हजारभन्दा धेरै शिक्षक रहेको जनकारी गराउँदै उनले शिक्षकलाई स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउन आग्रह गरेका छन् ।

आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रुपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको उनले बताएका छन् । उनले काठमाडौं र जुम्लाको शिक्षा नीति र आवश्यकता फरक हुनसक्ने पनि स्पष्ट पारेका छन् ।

‘संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन,’ उनले भनेका छन्, ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’

शिक्षकहरुले गरिरहेको आन्दोलनका कारण महानगरभित्रका स्कुल बन्द गरेर पठनपाठन अवरोध पुर्‍याएको खण्डमा भने कानुन (संविधान)अनुसार कारबाही गरिने बालेनले बताएका छन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा यतिबेला देशभरका शिक्षक आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले देशभर विद्यालय बन्द गराएर शिक्षकलाई आन्दोलनमा उतारेको छ । बुधबार काठमाडौंमा झन्डै चार हजार शिक्षकले प्रदर्शन गरेका छन् ।


रवि धिताल