एनसेलले मनायो विभिन्न सहरमा तीज कार्यक्रम



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले विभिन्न सहरमा सांगीतिक कार्यक्रम आयोजना गरी ठूलो उत्साह र उमंगका साथ स्थानीय समुदायसँगै हरितालिका तीज पर्व मनाएको छ । तीज कार्यक्रम कम्पनीको १८औं वार्षिकोत्सवको ‘हामी तपाईंकै लागि’ भन्ने थिमका साथ आयोजना गरिएको थियो ।

तीज हिन्दु महिलाले ठूलो उत्साहका साथ मनाउने नेपालको एक विशेष पर्व हो । एनसेल विशेष अवसरका खुसीहरुलाई सबैसँग साटासाट गर्न प्रतिबद्ध रहेको छ ।

एनसेलको वार्षिकोत्सव र तीज अवसरमा सोमबार एनसेलले विभिन्न चार सहरहरु सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सर्वसाधारणबाहेक विशेष गरी महिलाको उल्लेख्य सहभागिता थियो ।

सहभागीहरुले सांगीतिक कार्यक्रमको आनन्द लिनुका साथै स्थानीय कलाकारको गीतसंगीत प्रस्तुतिमा नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए । ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो । स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथा अन्य सेवा, सुविधा लिन सक्ने व्यवस्था रहेको थियो ।

एनसेलले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको हो । कम्पनीले आमनेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवामार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । ‘हामी तपाईंकै लागि’ थिमअनुरुप ग्राहकसँग सुमधुर सम्बन्ध बढाउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न तथा ग्राहक र साझेदारलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।


रवि धिताल