रत्नपार्कदेखि सूर्यविनायकसम्म आजबाट द्रुत बस सेवा, यी १९ स्थानमा बस स्टप



काठमाडौं । आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको आज विहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनपछि मन्त्री ज्वाला, मन्त्रालयका अधिकारी, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म उक्त बस चढेर जाने छन् । द्रुत बस सञ्चालनका लागि सडक विभागले रोडमा रातो रङ पोतेर छुट्टै लेन बनाएको छ ।

द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म बिहीबारबाट २५ वटा बसहरू नियमित सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन् । त्यो समयमा यी बस गुड्ने रंग पोतिएका डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन ।

तर एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ । यी बस ट्राफिकको रातो बत्तीमा पनि रोकिँदैनन् ।

द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ । सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहने प्रवक्ता पनेरूले बताए ।

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ ।

आज उद्घाटन हुने बस सेवाले यात्रु भने भोलिबाट मात्र बोक्न थाल्ने छ । यो सेवामा बस चढ्नका लागि यात्रुले अन्य सार्वजनिक यातायाता सरहनै भाडा तिर्नु पर्नेछ ।


क्लिकमान्डु