मुस्ताङमा स्याउ टिप्न सुरु, बगैंचामै पुगे व्यापारी



म्याग्दी । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैलेलगायत ठाउँमा स्याउ टिप्न थालिएको हो ।

स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानले टिप्न र बजार पठाउन थालेका हुन् ।

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय शुशीलबाबु थकालीले जानकारी दिए । विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकोमा गुणस्तर कम भएको गुनासो आएपछि यो वर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न सुरु गरिएको मार्फाका स्याउ किसान दीप लालचनले बताए ।

अहिले स्याउ खरिद गर्न स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारी स्याउ बगैँचामा पुगेका छन् । व्यापारीले स्याउको बगैँचा नै ठेक्कामा लिन्छन् । धादिङ, काठमाडौंलगायतका ठाउँबाट व्यापारी स्याउ खरिद गर्न मुस्ताङ पुगेका हुन् ।

मुस्ताङको स्याउ खरिद गर्न म्याग्दीसहित पोखरा, चिवतनलगायत ठाउँबाट पनि व्यापारी पुग्ने गरेका कृषक लालचनले बताए । उनका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारी र कामदारले स्याउको बगैँचा कुरेर बसिरहेका छन् ।

मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक स्याउखेती गरिएको छ भने वार्षिक झन्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । केही समयदेखि उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ ।

मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली तथा विदेशी बजारमा पुग्ने गरेको छ ।


क्लिकमान्डु