हामीलाई सत्ता गठबन्धबाट निकाल्ने षड्यन्त्र भइरहेको छः अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्न आफ्नो पार्टीलाई बाहिर निकाल्ने प्रयास भइरहेको बताएका हुन् ।

गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको पनि रहेको उनले बताए । गठबन्धन बनाउने काममा भूमिका आफूहरुले नै खेलेको भन्दै उनले गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने तर्क गरे ।

अनुचित कुराका विबिरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिस्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरुको रहेको नेपालले बताए ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने र नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे । ‘व्याख्यात्मक घोषणापछि मात्रै एमसीसी पास गर्नाले विदेशीको गुलाम बन्नु परेन,’ उनले भने, ‘एमसीसीको घोर विरोध गरेका कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने थियो ।’

अध्यक्ष नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको बताए । पार्टीका अर्का नेता झलनाथ खनालले भने अझै पनि एमसीसी परियोजनाप्रति शंशय व्यक्त गर्दै आएका छन् ।


क्लिकमान्डु