राष्ट्र बैंकको ढुकुटीमा जम्मा भयो १० महिना १० दिनको आयात धान्न सक्ने विदेशी मुद्रा



काठमाडौं । सरकार र राष्ट्र बैंकको कडा नीतिका कारण देशको आन्तरिक अर्थतन्त्र शिथिल भइरहेका बेला देशको बाह्य क्षेत्रमा भने उल्लेख्य सुधार देखिएको छ । १९ महिना अघि ७ महिनाको मात्रै आयत गर्नसक्ने विदेशी मुद्रा राष्ट्र बैंकको ढुकुटीमा रहेपछि कडा नीति अबलम्बन गरिएको थियो ।

साउन महिनासम्म १० महिना १० दिनको आयात धान्न सक्ने विदेशी मुद्रा राष्ट्र बै‌कमा जम्मा भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको छ ।

२०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १ खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु