युवालाई नेपालमा अवसर नै छैन भन्ने गलत भाष्य बनाइयोः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालबाट प्लस टू पास गरेर ठूलो संख्यामा विद्यार्थी विदेशिनु सुखद ट्रेण्ड नभएको बताए ।

नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियाका क्रममा नेपालमा अवसर नै छैन भन्ने भाष्य बनाएर यसरी युवा विदेशिने गरेको प्रवृत्तितर्फ इङ्गित गर्दै नेपालमा कहाँ अवसर जुटाउन सकिन्छ भनेर अनुसन्धान नै नगर्ने परिपाटी गलत भएको महतले बताए ।

‘जुन देशमा गर्न धेरै बाँकी छ, अवसर सोही देशमा हुन्छ,’ उनले भने, ‘प्लस टू पनि नगरी विदेश जाँदैमा भविष्य उज्जवल हुन्छ भन्ने ग्यारेन्टी के छ र ?’

कलिलो उमेरमै विदेश जाँदा धेरै कठिनाइ भोग्नु परेको भन्दै उनले रोजगारीको खोजीमा जाने युवाका कारण भने नेपाललाई ठूलो सहयोग भइरहेको बताए ।

निजी क्षेत्रले भन्नासाथ सबै ठिक हुन्छ भन्ने पनि होइन

अर्थमन्त्री महतले निजी क्षेत्रले भन्ने सबै विषय सही नै हुन्छन् भन्ने भाष्य समेत सही नभएको बताए । निर्माण व्यवसायीले प्रचार गर्दा सरकारले भुक्तानी नदिएको भन्दै प्रचार गरेको र आन्दोलनमा उत्रिएपनि सारमा उनीहरुको माग ठेक्काको समय थपमा रहेको उनले खुलाए ।

‘हाम्रो पनि कमिकमजोरी हुन सक्छन्,’ उनले भने, ‘तर निजी क्षेत्रले भन्नासाथ त्यो सबै ठिक हो भन्ने पनि होइन ।’

रिर्फम निर्दयी हुन्छ, अड्चन आउछन्

सुधारको सन्दर्भमा घोषणा भन्दा धेरै कार्यान्वयनमा समस्या रहेको बताए । त्यसले अड्चन सिर्जना गर्ने र रानीतिक क्षेत्रबाट समेत दवाव आउने उनको अनुभव छ । आवश्यकता नदेखेका संरचना खारेज गर्ने सवालमा आफुले यस्तै दवाव झेल्नु परेको उनको भनाइ छ ।

‘खाइपाई आएकाहरु बीचमा म सबैभन्दा अलोकप्रिय हुने रहेछु,’ उनले भने ।

महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने बताएका छन् ।

‘पेनफुल छ, स्लो छ, तर पोजेटिभ डिरेक्सनमा छ’, उनले भने, कार्यान्वयनमा केही तगारो पनि छन्, त्यसकारण अपेक्षा अनुसार नतिजा देखिन समय लाग्छ ।’

आफुले इमानदारसाथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उनले सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी पुरा गर्दा विद्यमान समस्याबाट माथि उठ्न समय नलाग्ने उनको भनाइ छ ।

अहिले रेमिट्यान्स बढेको भएपनि पूँजीबजार तथा घरजग्गामा समेत लगानी आउन नसक्नुको कारण लगानीकर्तामा रहेको हिच्किचावट रहेको उनले उल्लेख गरे ।

बाहिर जसरी प्रचार भइरहेको छ, त्यसले लगानीकर्तामा हिच्कचावट र द्धिविधा देखिएको उल्लेख गर्दै यसबाट लगानी आउन नसकेको उनले बताए । विगतमा लिएका लचिला नीतिहरुका कारण अधिक र अनुत्पादक क्षेत्रमा प्रवाह भएको कर्जा अहिले समस्यामा परेको भन्दै उनले यो अवस्था आउनुमा लिने मात्र दोषि नभएर दिने समेत हुने बताए ।

हिँजो इजी मनी हुँदा जति पनि लगानी गरिएपनि त्यसको प्रतिफल नआउँदा लगानीकर्ताले नयाँ लगानी गर्न नसकेको भन्दै उनले जति माग्यो, त्यति पैसाँ दिँदै गर्दा त्यसको सही उपयोग भयो वा भएन भनेर विगतमा हेर्न नसक्नु नै कमजोर भएको उनले बताए ।

राजस्वमा देखिएका समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी रहेको जानकारी दिँदै उनले बजेट व्यवस्थापनका लागि समेत कार्यविधिहरु बनिरहेको बताए ।

आत्मविश्वास बढाउनु जरुरी
उनले अर्थतन्त्र चलायमान बनाउन आत्मविश्वास बढाउन जरुरी रहेको समेत बताए । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै यसमा राष्ट्र बैंकले लिने नीतिहरुको ठूलो भूमिका रहने बताए ।

‘राष्ट्र बैंकले धेरै नै माइक्रो लेवलमा कस्न खोज्दा पनि लगानीकर्ता हच्किएको अवस्था हो,’ उनले भने, ‘अर्कोतर्फ बढी नेगेटिभ प्रचारले समेत आत्मविश्वास बढाउन नसकेको हो ।’

निजी क्षेत्रको छलफलमा आफुले जहाँ समस्या छ, त्यसको सम्बोधनमा ध्यान दिउँ तर नकारात्मक प्रचार नगरौं भनेर आग्रह गरेको समेत उनले जानकारी दिए ।


क्लिकमान्डु