हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती



बागमती । हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो ।

हेटौंडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा ११५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा रहेको छन् । ती उद्योगमध्ये अधिकांश उद्योगको अवस्था कमजोर एवं नाजुक रहेको बताइएको छ ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उक्त औद्योगिक क्षेत्रमा तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन भइरहेका छन् । साथै कतिपय उद्योग कहिले चल्ने र कहिले बन्द हुने अवस्थामा छन्। त्यहाँ सञ्चालित उद्योगको उत्पादन र बिक्रीसमेत घट्दै गएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका प्रमुख भोजराज विराडीका अनुसार उद्योगको अवस्था विगत तीन वर्षदेखि दिन प्रतिदिन खस्किँदै गएको र लगानीअनुसार प्रतिफल प्राप्त नभई घाटा बढ्दै गएको छ ।

उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा उद्योगीले दिएको जानकारी तथा गुनासोका आधार आफूले उत्पादनमा कटौटी गरेको जानकारी पाएको उनको भनाइ रहेको छ । विगत तीन वर्ष अगाडि विश्वमै फैलिएको कोरोना महामारीका साथै विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दीले उद्योग र व्यवसायको अवस्था उठ्न नसकेको उनको भनाइ छ ।

सो औद्योगिक क्षेत्रमा एक सय ४७ वटा सरकारी र निजीसहित एक सय ४७ औद्योगिक प्रतिष्ठान रहेको र तीमध्ये एक सय १५ वटा उद्योग सञ्चालनमा रहेका छन् भने ९ वटा उद्योग बन्द भइसकेका छन् । त्यसैगरी २३ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको र उद्योगमा कामदारको सङ्ख्या ५ हजार रहेको सो कार्यालयको एक तथ्याङ्कले जनाएको छ ।

औद्योगिक क्षेत्रमा निजी क्षेत्रको तर्फबाट रु पाँच अर्व ५५ करोड र सरकारी क्षेत्रबाट ९० करोड रुपैयाँ लगानी रहेको छ। सो उद्योगबाट औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई मासिक रु तीन करोड भाडा उठ्ने गरेको छ तर उद्योगको अवस्था नाजुक रहेकाले भाडा दिनमा समेत समस्या रहेको उद्योगको गुनासो रहेको पाइएको छ ।

त्यहाँ सञ्चालनमा रहेका उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिकमन्दीको कारणले उद्योगको अवस्था नाजुक भएको उद्योग वाणिज्य सङ्घ हेटौँडाका अध्यक्ष कृष्णकुमार गुप्ताको भनाइ रहेको छ ।

अहिले बजारको अवस्था नाजुक छ, पसल र सटर खाली हुँदै गएको छ, उद्योगबाट उत्पादित सामान बिक्री हुँदैन र यो गम्भीर समस्या हो उनले भने । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको र थप उद्योगमा लगानी गर्न बैंकले ऋणसमेत दिँदैन हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भने ।


क्लिकमान्डु