सरकारले खासै काम गर्न सकेन, संघीयता खारेज हुनसक्छः झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुन सक्ने आशंका व्यक्त गरे ।

संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताए । ‘आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्न जरुरी छ,’ उनले भने ।

संघीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताए । सरकारकै घटक दल नेपाली कांग्रेस समाजवादी मोर्चालाई लिएर सशंकित रहेको समयमा उनले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गरे ।

सम्पूर्ण वामपन्थी शक्ति मोर्चामा आबद्ध हुनसक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चाबद्ध हुन सम्भव नरहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले सरकारले अहिलेसम्म खासै राम्रो काम गर्न नसकेको बताउँदै सरकारले गर्ने राम्रो वा नराम्रो कामले सरकारको भविष्य निर्धारण गर्ने तर्क गरे ।


क्लिकमान्डु