जुटखेती हुन छाड्यो, प्लास्टिक डोरीकै भरमा किसान
कञ्चनपुर । कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि किसानले जुटखेती गर्न छाडेका हुन् ।
‘विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायाका आधारमा एकदेखि तीन कठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए,’ कृष्णपुर नगरपालिका-५ का किसान रामकृष्ण चौधरीले भने, ‘हाल बजारमा प्लास्टिका डोरी सहज रुपमा पाउन थालेपछि जुट खेती गर्न किसानले छाडेका छन् ।’
खेतमा रोपेको जुट काटेर पानीमा कुहाउने, कुहिएर गन्हाएको जुटका धर्सा निकाल्ने, पानीमा सफा गरेर सुकाउने र डोरी बनाउनुपर्ने झन्झट युवाले गर्न नमान्ने भएकाले पनि यसको खेती हुन छाडको उनको भनाइ छ । जुट कुहाउन प्रयोग हुने तालतलैया, खोला, सार्वजनिक पोखरी मासिँदै गएकाले पनि किसानलाई समस्या भएको छ ।
घरमा रहेका चौपायालाई रोडमा लगेर छाडा छाड्ने कार्यले पनि विगतको जस्तो डोरीको अभाव नखड्किँदा जुट खेती हुन छाडेको शुक्लाफाँटा नगरपालिका-३ का किसान भीमबहादुर डगौराले बताए ।
जुटखेतीलाई प्रोत्साहित नगरिँदा किसानले लगाउन छाड्दै गएको उनको बुझाइ छ । यहाँका किसानले परम्परागत रुपमा गर्दै आएको जुटखेतीलाई व्यवसायीकरण नगरिँदा किसानको आकर्षण घटदै गएको हो । बुढापाकाले डोरी बाट्ने कार्य गर्दै आए पनि त्यो सीप युवाले ग्रहण नगर्दा जुटखेती नै ओझेलमा परेको असैनाका किसान सुग्रिव राना बताउँछन् ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले कैलाली कञ्चनपुरमा हाल किसानले जुटखेती गर्न छाडेकाले प्रोत्साहनका कुनै पनि कार्यक्रम नरहेको बताए ।