सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’: मार्किङ गर्ने पेन्ट छैन, असोज ३ देखि सुरु गर्ने तयारी



सांकेतिक तस्बिर

काठमाडौं । सरकारले असोज ३ बाट सूर्यविनायक-रत्नपार्क सडकखण्डमा ‘द्रुत बस सेवा’ सुरु गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार सडक विभाग र यातायात व्यवस्था विभागलगायतका निकायका अधिकारीसँग गरेको बैठकमा असोज १ मा सुरु गर्ने भनिएको ‘द्रुत बस सेवा’लाई असोज ३ गतेका लागि सारेका हुन् । संविधान दिवसको दिन पारेर यो सेवा सुरु गर्ने सरकारको तयारी छ ।

असोज ३ देखि सुरु गर्ने भनिए पनि पूर्वतयारी भने न्यून छ । ‘द्रुत बस सेवा’का लागि सडकमा निश्चित लेन छुट्याउन गरिनुपर्ने मार्किङका लागि आवश्यक पेन्टसमेत नभएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार सडकमा मार्किङको जिम्मेवारी सडक डिभिजन कार्यालय काठमाडौंलाई दिइएको छ । तर, अन्तिम समयमा आएर जिम्मेवारी दिइनु र केही दिनअघि मात्रै बिफ्रिङ गराएर हतारोमा काम गर्न खोज्नुले सरकारको पूर्वतयारी नै नरहेको देखिएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर हरिकुमार ठकुरीका अनुसार आज (मंगलबार)बाट मार्किङ सुरु गर्ने भनिए पनि काम सुरु भएको छैन । उनी भन्छन्, ‘अहिले लेआउट तयार गर्ने काम भइरहेको छ ।’

ठकुरीका अनुसार डिभिजन कार्यालयसँग मार्किङका लागि चाहिने पेन्ट पनि छैन । मार्किङका लागि चाहिने पेन्ट मगाउनुपर्ने भएकाले ती पेन्ट केही दिनमा भारतबाट आउने उनले बताए ।

सडकमा मार्किङको कामको जिम्मा कसलाई दिने भन्ने पनि टुंगो लागेको छैन । ठकुरीका अनुसार पहिल्यैबाट काम गरिरहेको एक समूहलाई यस विषयमा कुरा गरिएको भए पनि हालसम्म निर्णय भइसकेको छैन । उनी भन्छन्, ‘मार्किङका लागि पहिला गरिरहेको एउटा समूह रहेछ, त्यसलाई भनिएको छ । यही भनेर अहिलेसम्म फिक्स भइसकेको छैन । जसले काम गर्न सक्छ, उसलाई नै दिने हो ।’

सडक डिभिजन कार्यालयलाई ‘द्रुत बस सेवा’को विषयमा केही दिनअघि मात्रै बिफ्रिङ भएको थियो । भदौ २२ गते मात्रै आफूहरुलाई यस विषयमा बिफ्रिङ भएको ठकुरीले बताए । २२ गते ‘द्रुत बस सेवा’को डिजाइन गर्नेले आएर आफूहरुलाई यस विषयमा जानकारी दिएको उनले बताए ।

सोमबार भने कार्यालयका प्रमुखलगायतसँग मन्त्री ज्वालाको बैठक थियो । ठकुरी भन्छन्, ‘बैठकपछि जतिसक्दो चाडो गर्ने हिसाबले गर्ने भन्ने कुरा छ ।’

सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको सार्वजनिक यातायात सञ्चालन गर्ने भनेर सरकारले तयारी गरेको झन्डै दुई महिना हुन लागिसकेको छ । साउन १५ मा प्रधानमन्त्री निवास बालुवाटारमा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँग भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै यो सेवा सुरु गर्ने तयारी रहेको बताएका थिए । यसका लागि सम्बन्धित निकायहरुले गृहकार्य गरिरहेको पनि उनले जानकारी दिएका थिए ।

तर, उक्त गृहकार्य पर्याप्त नभएका कारण सरकारले सेवा सुरु गर्ने भनेको साता दिन मात्रै बाँकी हुँदा सडक मार्किङको कामसमेत हुन सकेको छैन । असोज ३ गतेबाट सडकमा द्रुत बस सेवाअन्तर्गतका २५ बस सञ्चालन गर्ने भनिएको छ ।

सडक डिभिजन कार्यालयका इन्जिनियर ठकुरीका अनुसार दिउँसोको समयमा मार्किङ गर्नुपर्ने सडक खण्डमा धेरै ट्राफिक हुने भएकाले काम गर्न सम्भव छैन । रातिको समयमा गर्दा निरन्तर झरि परिरहेको समस्या हुन सक्ने उनले बताए ।

‘एक हप्ताको समय छ, पानी परिरहेको छ, पेन्टहरु पनि छैन,’ उनी भन्छन्, ‘पेन्टहरु आउन समय लाग्छ । अब कुरा के छ भने जति सकिन्छ त्यत्ति गर्ने हो । टार्गेट ठूलै राखिएको छ । सूर्यविनायकसम्मको टार्गेट राखिएको छ । माइतघरदेखि तीनकुनेको सर्भिस लेनमा दुईतिर काम गर्न सजिलो छ । त्यत्ति मात्रै गरेर भए पनि सुरु गर्ने भन्ने हो ।’

सडकमा मार्किङका लागि आवश्यक पेन्ट भारतबाट आयात गरिने उनले बताए । हाल ती पेन्टहरु अर्डर गर्नका लागि कुरा भइरहेको पनि उनले जानकारी दिए । उनले भने, ‘आज हाकिल साबसँग कुरा भइरहेको थियो । सेतो रंग चाहिँ यहाँ पनि उपलब्ध छ । त्यसले गर्दा सेतो रंगचाहिँ सर्भिस लेन र एक्सप्रेस वेका लागि सेतो धर्का तान्नुपर्ने हुन्छ । सेतो रंगले मार्किङ गर्ने कामचाहिँ आज बेलुकाबाट सुरु हुन्छ होला सायद ।’


रवि धिताल