एमजी कमेट  इभी र एमजी ४ इभी नेपाली बजारमा, मूल्य कति ?



काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट इभी र एमजी ४ इभी सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँँ नाम हुन् ।

गाडी सार्वजनिक कार्यक्रममा पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा उत्साहित भएको बताए । ‘स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकका लागि यी दुई मोडल अत्यन्तै उपयुक्त हुन्छन्,’ उनले भने ।

एमजी कमेट इभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो, जसले सिंगल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ ।

एमजी कमेट इभीमा यात्रुको सुरक्षाका लागि आईपी६७ रेटेड ब्याट्रि, डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट राखिएको छ । सुविधा र सहजताका लागि एमजी कमेट इभीमा एलसीडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटर जस्ता सुविधा छन् ।

एमजी कमेट इभीको सुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ छ भने एमजी कमेट इभी प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ ।

त्यस्तै एमजीले कमेट इभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ ।

हेर्दा अत्यन्तै आकर्षक देखिने एमजी ४ इभी २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ । कम्फर्ट र लक्जरी गरी २ भेरियन्टमा उपलब्ध एमजी कम्फर्ट इभीको ब्याट्रि क्षमता ५१ किलोवाट आवर र ९९ किलोवाटको मोटर छ ।

त्यस्तै एमजी लक्जरी इभीको ब्याट्री क्षमता ६४ किलोवाट आवर र १५० किलोवाटको मोटर रहेको छ । एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यही मुल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरुको सेग्मेन्टमा पहिलो फिचर हो ।

एमजी ४ इभीले सिङल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज दिन सक्छ । राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजी ४ इभीमा रियर व्हिल लेआउट राखिएको छ । त्यस्तै यात्रुको सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरु रहेका छन भने सुविधा र सहजताका लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभिङ मोड आदि जस्ता फिचरहरु छन् । 

त्यस्तै एमजी ४ इभीको लागि हाइ भोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ भन हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ ।

त्यस्तै एमजी ४ कम्फर्ट इभीको शुरुवाती मुल्य ४१ लाख ४९ हजार छ भने एमजी लक्जरी इभीको सुरुवाती मूल्य ५८ लाख ९९ हजार रुपैयाँ छ ।

एमजीका यी दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचरहरु रहेका छन् । यी दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टि प्रदान गरेको छ ।

हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेसनहरूको संख्या ५० सम्म पुर्‍याउने लक्ष्य राखेको छ ।

सेवाग्राहीको सहज यात्राका लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ ।

यी स्थानमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरु स्थापना गरिने जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसन छन् ।


क्लिकमान्डु